बतास समूहले पाटन दरबार क्षेत्रको मल्लकालीन सम्पदामा पनि सम्झौता विपरीत व्यापार गरिरहेको खुलेको छ ।
मिलेमतोमा सम्झौता गरेर नारायणहिटी दरबार संग्रहालयमा होटल खोल्न खोजेपछि बतास अर्गनाइजेसन विवादमा परेको छ । तर उसले पाटन दरबार क्षेत्रमा पाटनको दरबारको पाटी पनि सस्तो दरमा लिएर सम्झौता विपरीत व्यापार गरिरहेको पाइएको हो ।
पाटन दरबार क्षेत्रको मंगलबजारपटि्टको कोत पाटी मल्लकालीन राजा श्रीनिवास मल्लले बनाएका हुन् । पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूह अन्तर्गतको बीपीएस लिजिङले ठेक्का लिएको छ । बीपीएसले नाम परिवर्तन गरेर अहिले बी म्यानेजमेन्ट बनाइएको छ ।
मल्लकालमा राजदरबारको हतियार राख्नको लागि बनाइएको सो पाटी ऐतिहासिक रुपमा पनि महत्वपूर्ण मानिन्छ । मल्लकालपछि सर्वसाधरणको खुला पहुँचमा रहेको यो पाटी पुरातत्व विभागका तत्कालीन महानिर्देशक साफल्य अमात्यको पालामा २०४० को दशकको मध्यतिर पुरातत्व विभाग मातहत आएको थियो । वि.सं. २०६४ सालसम्म पाटीका कुल ३३ वटा कवलमध्ये १८ वटामा स्थानीयले पसल चलाउँथे । स्थानीय व्यवसायीहरुले विहान-बेलुका प्रयोगमा ल्याउने गरेका थिए । विशेष दिनहरुमा त्यहाँ विभिन्न धार्मिक/सांस्कृति गतिविधि पनि हुन्थे ।
स्थानीयले व्यवसाय गरेपनि मान्छेलाई पाटीमा थकाइ मार्न र अन्य सांस्कृतिक गतिविधि गर्न निषेध थिएन । स्थाननीय कृष्ण राजकर्णीकारका अनुसार त्यहाँ उनका बाबुबाजेले हलुवा र पुरी बेच्थे । ‘पछि पाटीको पुरै व्यापारीकरण भयो,’ उनी भन्छन्, ‘पाटी खुला गर्ने नीति हो भने त त्यहाँबाट हामीलाई हटाउनु गलत भन्न मिल्दैनथ्यो, तर पछि धनाढ्य व्यापारीलाई ल्याएर हुलियो ।’